व्यवसायिक योजना बनाउन जान्नु पर्ने आधारभूत जानकारी
खेती गरिने स्थानको हावापानी, माटो, बाली तथा जात छनौट, उत्पादन गर्ने समय, बजार माग, मूल्य एवं बजार पूर्वाधारले कृषि उपजहरुको व्यवसायिक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कुन बाली कति परिमाणमा कहिले उत्पादन गर्ने, उत्पादन प्रक्रिया कस्तो हुने, उत्पादन कुन गुणस्तरको हुने, कहाँ बिक्री गर्ने र कति मूल्यमा बिक्री गर्ने जस्ता विषयहरुले कृषि व्यवसायमा महत्वपूर्ण अर्थ राख्दछ । अधिकांश कृषकहरू खेती व्यवसायमा बजारमूखी एवं नाफामूलक उत्पादन गर्न चाहन्छन् । तर, प्राविधिक ज्ञान, सीपको कमी, जोखिम लिने क्षमताको कमी र प्रतिफलको अनिश्चितता जस्ता कारणहरूले खेती व्यवसायबाट अपेक्षाकृत लाभ लिन सकिरहेका हुँदैनन् । कृषक वा उद्यमीहरूले कुनै व्यवसाय वा उद्यम सञ्चालन गर्नुपूर्व बजार सम्भाव्यता, उत्पादनस्तर, सम्भावित खर्च, पुँजीको आवश्यकता, कानुनी पक्ष, सम्भावित अवसर तथा जोखिमहरू बारे राम्ररी बुझ्नु जरुरी हुन्छ । यिनै विषयहरूलाई समेटी विकास गरिएको योजनालाई नै व्यवसाय योजना (Business Plan) भनिन्छ । व्यवसाय योजनालाई व्यवसाय स्किम (Business Scheme) पनि भन्ने गरिन्छ । यसरी व्यवसाय योजनालाई कुनै उद्यम वा व्यवसायको मार्गचित्र (Road Map) तथा रूपरेखा (Blue Print) को रूपमा लिइन्छ । व्यवसाय योजनामा कति परिमाणमा उत्पादन गर्ने, कहिले र कहाँ बिक्री गर्ने, लक्षित ग्राहक को हुने, उत्पादन लागत कति लाग्ने हो, साथै पूँजीगत लगानी कति हुने हो भन्ने जस्ता विषयहरू उल्लेख गरिएका हुन्छन् । नेपालमा व्यवसाय योजना विभिन्न उद्देश्यको लागि बनाउने गरिएको छ । कसैले यसलाई बैंकबाट ऋण लिने प्रयोजनको लागि बनाउने गरेका छन् र कसैले वैधानिक दर्ता (Legal Registration) प्रयोजनको लागि यसको प्रयोग गर्ने गरेका छन् । तथापि, व्यवसाय योजना व्यवसाय सञ्चालनको पथ प्रदर्शक (Operational Guideline) को रूपमा आफ्नै प्रयोगको लागि तयार गरिन्छ ।
व्यवसाय योजना तयार गर्दा सामान्यतया चार संभागहरू समावेश गरिएको हुन्छ । यसको अलावा, सम्बन्धित उद्यमको बारेमा छोटो विवरण पनि यसमा समावेश गरिन्छ । तरकारी खेती व्यवसायको उदाहरण लिएर व्यवसाय योजनाका संभागहरूको बारेमा अगाडि चर्चा गरिएको छ ।