वित्तीय योजना (Financial plan)

पूँजीको लगानी विना कुनै पनि व्यवसाय गर्न सकिदैन । तसर्थ, फार्म व्यवसाय शुरू गर्नको लागि कति पूँजी आवश्यक पर्छ भनि जान्नु अत्यावश्यक हुन्छ । त्यसैले व्यवसाय योजना अन्तर्गत वित्तीय योजना बनाउँदा व्यवसायको लागि कति पूँजीको आवश्यकता पर्ने हो, सो को गणनाको साथै त्यसका स्रोतहरू के के हुन्, ऋण लिने हो भने ब्याजदर कति हुने जस्ता विषयहरू विस्तारमा उल्लेख गर्नु पर्दछ । त्यस्तै, लगानीकर्ताको स्वधन (Equity) र ऋणको अनुपात तथा स्थिर पूँजी र सञ्चालन पूँजीका रूपमा गर्नु पर्ने आवश्यक लगानीको गणना समेत व्यवसाय योजनाको वित्तीय खण्डमा गरिन्छ । यसका अतिरिक्त कतिपय अवस्थामा व्यवसाय सञ्चालन पूर्वका गतिविधीहरू जस्तै सर्भे, तालिम, परिक्षण उत्पादन, बजार अध्ययन र रजिष्ट्रेशन आदिमा लाग्ने खर्चहरू सञ्चालन पूर्वको पूँजीको रूपमा गणना गरिन्छ र पछि सोही बमोजिम रकम छुट्याई खर्च गरिन्छ । त्यसै गरी नाफा–नोक्सानको हिसाबकिताब, लगानीको प्रतिफल, लगानी फिर्ता हुने अवधि, ऋण फिर्ता गर्न लाग्ने समय, पार–विन्दु (Break-even Point) आदि पनि वित्तीय योजना अन्तर्गत विश्लेषण गरिन्छ । व्यवसाय कहिल्यै पनि कम पूँजीकृत (Under Capitalized) वा बढी पूँजीकृत (Over Capitalized) हुनु हुँदैन । आवश्यकता भन्दा कम पूँजीले व्यवसाय सञ्चालन गर्दा राम्रो प्रतिफल आउँदैन र आवश्यकता भन्दा बढी पूँजीले पनि लगानीको तुलनामा आशातित प्रतिफल पाउन सकिँदैन ।


सञ्चालन पूँजी (Operational Cost)
व्यवसायलाई निर्वाध रूपमा सञ्चालन गर्न सञ्चालन पूँजीको आवश्यकता पर्दछ । यो कुनै पनि व्यवसायको लागि घुम्ती (Revolving) पूँजीको रूपमा रहेको हुन्छ । उत्पादन देखि बजारिकरण प्रक्रियासम्म यसको आवश्यकता पर्दछ । सामान्यतया सञ्चालन पूँजीको आवश्यकता निम्न प्रयोजनको लागि पर्दछ ।

  • कच्चा पदार्थको संचय,
  • अर्ध प्रशोधित वस्तुहरूको संचय,
  • उपभोग्य वस्तुको ९ँष्लष्कजभम नययमक० संचय,
  • उधारो बिक्री,
  • नगद (ज्याला, तलव र अन्य शिरोभार खर्चहरूको लागि) ।
  • आफैसँग रहेको बचत (नगद, बैङ्क मौज्दात),
  • सापटी (आफन्त एवं साथीभाईबाट),
  • कुनै वस्तु बन्धकिमा राखी ऋण लिने,
  • साहुबाट ऋण लिने,
  • बचत तथा ऋण स्किम अन्तर्गत ऋण लिने,
  • उधारोमा सामान खरिद गर्ने,
  • अनुदान÷सहयोग,
  • बैङ्क तथा सहकारीबाट ऋण लिने ।

माथि उल्लेखित स्रोतहरूको आ–आफ्नै राम्रा र नराम्रा पक्षहरू छन् । उद्यमीहरूले वित्तीय प्रवन्ध गर्दा कुन स्रोत उनीहरूको लागि सबभन्दा उपयुक्त हुन्छ भन्ने विचार गरी निर्णय गर्नुपर्दछ ।


परिवर्तनशील लागत वा चालु खर्च (Variable Cost)
चालु खर्च त्यस्तो खर्च हो जुन उत्पादन गरेमा मात्र लाग्छ र उद्यमको आकार बमोजिम घटबढ हुन्छ अथवा चालु खर्चहरू ती खर्चहरू हुन् जो उत्पादनको तहसँग घटिबढी भइरहन्छ । चालु खर्च विशेषतः मल, बीउ, श्रम, इन्धन आदिसँग सम्बन्धित हुन्छ र यो लागत उत्पादन मात्राको परिवर्तनसँगै परिवर्तनशिल हुन्छ । यस्तो लागत प्रत्येक उद्यमको लागि सहजै छुट्याउन सकिन्छ । उदाहरणको लागि तरकारी उत्पादनमा धेरै श्रमको आवश्यकता पर्दछ । तरकारी खेती क्षेत्रफल वृद्धिसँगै बिरुवा रोप्न, झारपात हटाउन, गोडमेल गर्न तथा बाली कटानी गर्न थप श्रम शक्तिको आवश्यकता पर्दछ । ट्रयाक्टरको प्रयोग वृद्धि सँगै ट्रयाक्टर चलाउन आवश्यक इन्धन खर्च पनि बढ्न जान्छ । त्यसैगरी क्षेत्रफल बढेमा मलखादको खर्च पनि बढ्छ । यसरी, कृषि व्यवसायमा श्रम, बीउ विजन, मलखाद, विषादी, पशुदाना, इन्धन आदि खर्चहरू प्रायशः चालु खर्च अन्तर्गत पर्न आउँछन् ।


स्थिर लागत वा स्थिर खर्च (Fixed Cost)
स्थिर खर्च त्यस्ता खर्चहरूलाई भनिन्छ, जुन उत्पादनको परिमाण तथा उद्यमको आकारमा हुने सानो परिवर्तनले घटबढ हुँदैन र यो समान रहन्छ । विशेषतः स्थिर खर्चमा जग्गा तिरो, बीमा, ब्याज, ह«ासकट्टी, स्थायी ज्यालादार हरूको ज्याला आदि सम्मिलित हुन्छन् । कतिपय अवस्थामा कुनै निश्चित कृषि उद्यम अन्तर्गत स्थिर खर्च छुट्याउन मुस्किल पर्दछ । कतिपय स्थिर खर्च सोभैm निश्चित उद्यमसँग सम्बन्धित हुन्छन् । जस्तै कुखुरा पालनको लागि खोर (केज) निर्माण गर्नु । तर खेतीपातीको क्रममा प्रयोग गरिने विभिन्न मेशिनहरू कुनै एक निश्चित उद्यमको स्थिर खर्चको रूपमा गणना गर्न कठिन हुन्छ । किनकि, त्यस्ता वस्तुहरूको प्रयोग अन्य उद्यमहरूमा पनि गर्न सकिन्छ । जस्तै पानी तान्ने पम्पको प्रयोग धान खेतीमा गर्न सकिन्छ भने तरकारी खेतीमा पनि उक्त पम्पको प्रयोग गर्न सकिन्छ । यस्तो अवस्थामा पानी तान्ने पम्प खर्च तरकारी खेती वा धान खेतीमा गणना गर्ने भन्ने समस्या हुन सक्छ । अर्काेतर्फ भवन तथा मेशिनहरूको मूल्य ह्रास (Depriciation), मर्मत सम्भार, नियमित श्रम ज्याला, पानी, बारबन्देज, बीमा तथा भाडा (rent) जस्ता केही स्थिर खर्चहरू यदि कुनै निश्चित उद्यमसँग मात्र सम्बन्धित छनैन् भने पुरै खेतीपातीको स्थिर खर्चको रूपमा गणना गर्नु पर्ने हुन्छ ।