वित्तीय विश्लेषण (Financial Analysis)

वित्तीय विश्लेषण अन्तर्गत कृषकले आफ्नो विभिन्न कृषि उद्यम (Enterprise) हरू वा बालीनाली उत्पादनको वित्तीय लेखाजोखा (Financial Analysis) गर्नु पर्दछ, व्यवसायले कति मुनाफा आर्जन गर्नेछ, खेती व्यवसायमा गरिएको लगानी कहिलेसम्म उठ्नेछ, लगानी बमोजिमको प्रतिफल के हुनेछ र कहिले वा कति समयमा मुनाफा आर्जन हुनेछ, पारविन्दु (Break-even Point) कहिले हासिल हुनेछ भन्ने विषयहरूको लेखाजोखालाई वित्तीय विश्लेषण भनिन्छ ।


कूल आम्दानी (Gross income)
कूल आम्दानी कुनैपनि कृषि उद्यमको उत्पादनको मूल्य हो । कूल आम्दानीले उपजको उत्पादन चक्र वा वर्षभरिको अवधिको उपजको जम्मा मूल्यलाई जनाउँछ । त्यस्तो उपजको मूल्य कृषकले त्यसको बेचविखनबाट प्राप्त गर्ने रकमबाट सहजै मापन गर्न सक्छन् । कृषकले आफुले उत्पादन गरेका उपजहरू सबै बेचविखन गर्दैनन् । तसर्थ कूल आम्दानी अन्तर्गत उपजको बिक्रीबाट प्राप्त रकमका अतिरिक्त आफूले घरासयी रूपमा उपभोग गरेको उपजको मूल्य र भविष्यमा उपभोग गर्ने वा पछि बिक्रीको लागि सञ्चय गरेर राखेको उपजको मूल्य पनि पर्दछ । कूल उत्पादनलाई औसत फार्म गेट मूल्यले गुणा गरेमा कूल आम्दानी निकाल्न सकिन्छ । फार्म गेट भन्नाले उत्पादन पछिको पहिलो बिक्री विन्दु वा स्थान बुझिन्छ । कूल आम्दानीको हिसाव निकाल्दा उक्त फार्म गेट वा बिक्रीको पहिलो विन्दुको बिक्री मूल्यलाई लिनुपर्दछ । अथवा फर्मले उत्पादन गरेको कूल उत्पादित परिमाणलाई त्यस उत्पादनको मूल्यले गुणन गरी प्राप्त हुने रकमको मात्रा त्यस फर्मको कूल आम्दानी हो भनेर बुझ्न सकिन्छ ।
एकै वर्षमा एउटै जग्गा वा प्लटबाट एक भन्दा बढी छिटो तयार हुने बाली उत्पादन गर्नपनि सम्भव हुने भएकोले कूल आम्दानीको हिसाव गर्दा कुनै निश्चित सिजनको कूल आम्दानी र कुनै निश्चित वर्षको कूल आम्दानी छुट्टाछुट्टै हिसाव गर्नुपर्छ । यस प्रकार वर्षभरी दुई वा सो भन्दा बढी पटक उत्पादन लिइएको कुनै बालीको वार्षिक कूल आम्दानीको जोड नै वार्षिक आम्दानी हुन जान्छ ।


वासलात (Balance sheet)
वासलातले सम्पत्ति र दायित्वका विवरण प्रस्तुत गर्दछ । सम्पत्तिहरूलाइ स्थिर र चालु गरी दुई प्रकारमा विभाजन गरिन्छ । सामान्यतया स्थिर सम्पत्ति भन्नाले यसका ह्रास कट्टि गरी सकेपछि र व्यवसाय÷उद्यम सञ्चालन पुर्वका खर्चहरूको लागि रकम छट्याइ सकेपछि (Amortization) हुन आउने वार्षिक मूल्यलाई मानिन्छ । चालु सम्पत्तिको रूपमा कच्चा पदार्थ, प्रक्रियामा रहेको काम, उपभोग्य वस्तु (Finished Goods), पाउनु पर्ने रकम र साथमा रहेका नगद आदिलाई लिइन्छ । यसका अतिरिक्त नगद प्रवाह (Cash Flow) का माध्यमबाट जम्मा हुन आएका नगद सञ्चिति पनि सम्पत्तिको रूपमा देखाइन्छ । दायित्वले कच्चा पदार्थको तिर्न बाँकी रकम, तलव भुक्तानी र उद्यम÷व्यवसायको अन्य लागतहरू, ऋण, लगानीकर्ताको स्वधन (Equity) र नाफा नोक्सान विवरण (profit and loss statement) को आधारमा बाँकी रहेको कमाई (Retained Earining) लाई जनाउँछ । बाली, फार्म/व्यवसायको आकार अनुसार यो फरक पर्न सक्दछ ।


पार–विन्दु (Break-even Point)
पारविन्दु (Break-even Point) उत्पादनका विभिन्न परिमाणात्मक तहहरूमा खर्च र आम्दानी बीचको सम्बन्ध अध्ययन गर्ने एक विधि हो । लाभ–हानी पारविन्दुले उत्पादनको त्यो परिमाण बताउँछ जसको बिक्री रकम र उत्पादन खर्च बराबर हुन्छ । पार बिन्दूको अवस्थाको उत्पादन परिमाण भन्दा उत्पादन घटेमा नोक्सानी र बढेमा नाफा बढ्दै जान्छ । पारविन्दुले कुनै उद्यममा खर्च बरावरको आम्दानी हासिल गर्न आवश्यक प्रतिफलको परिमाण वा स्तर जनाउँछ । यो विन्दुमा नाफा वा कूल लाभ (Gross Margin) शुन्य हुन्छ । कुनै फार्मका लागि पारविन्दुका बारेमा जानकारी लिनु आवश्यक छ किनकी पार विन्दु त्यस्तो अवस्था हो जहाँ उद्यमीलाई न नाफा र न घाटा नै हुन्छ । उद्यम बजेटमा समाविष्ट लागत–लाभ सम्बन्धी विभिन्न अनुमानहरू भन्दा वास्तविक फार्म स्थितिमा प्राप्त परिणामहरू प्रायः धेरै फरक भएको हामी पाउँदछौं । उत्पादन र उपजको मूल्य प्रायः उल्लेखनीय रूपमा फरक परिरहेको पाईन्छ । तसर्थ, कृषकले आफ्नो फार्म अन्र्तगतका उद्यमहरूको उत्पादनमा लागेको चालु खर्च र कहिले काही “ कूल लागत उठ्ने गरी उत्पादनको न्यूनतम तह र उपजको न्यूनतम मूल्य निर्धारण गर्नु आवश्यक हुन्छ ।


लगानीको प्रतिफल (Return on Investment)
यो कुनै पनि व्यवसायमा लगाइएको पूँजीबाट प्राप्त मुनाफा वा आम्दानी हो । अर्को शब्दमा, लगानीको प्रतिफल व्यवसायमा जोखिम लिए बापतको क्षतिपूर्ति हो ।


लगानी फिर्ता पाउने अवधि (Payback Period)
यो कुनै पनि व्यवसायमा शुरूमा गरिएको लगानी बराबरको खुद प्रतिफल प्राप्त हुन लाग्ने समयावधि हो ।